साँच्चै हामी केका लागि पो लडेका थियौं ?


सन् १९१७ मा भएको अक्टोबर क्रान्तिमा लालसेनाले बोल्सेविक नेतृत्वलाई सोधे– मलाई भन्नुहोस् म केका लागि लड्दैछु ? कास्तान्पिनोपल अथवा स्वतन्त्र रसियाका लागि ? प्रजातन्त्रका लागि ? वा पुँजीवादी लुटाहाहरुका लागि ? यदि तपाईंले म क्रान्तिको संरक्षणको लागि लड्दैछु भन्ने कुरा प्रमाणित गर्न सक्नुहुन्छ भने म खुशीसाथ लडाईँमा जान्छु र मलाई मृत्युदण्डको डर देखाएर लडाइँमा जान बाध्य तुल्याउनुपर्दैन ।… यस्तै तीखो प्रश्न हाम्रा नेतालाई गर्ने बेला भएको छ । हामी केका लागि लडेका थियौं ?

सतारुढ मात्र होइन, देशकै ठूलो दल नेकपा (नेकपा) स्थायी कमिटीको बैठक जारी छ । स्थायी कमिटीमा भइरहेका पेचिलो छलफल बहसले देश नै तरंगित भएको छ । कुन नेताले के बोले, कुन एजेण्डा उठाए, कसरी बोले कता फर्किर बोले मात्र होइन, सोफादेखि कुर्सीसम्मका विषयले चर्चा पाएको छ । स्थायी कमिटीमा राजनीतिक, सैद्धान्तिक र सामान्य नागरिकको जीवन पद्दतिसँग जोडिएका विषयहरुमा सघन रुपले बहस भइरहेको छैन । छलफल र बहसले लय समाउन नसके पनि त्यतातिर खास नेताहरुको चासो देखिँदैन । बरु कसलाई कस्तो रंगको कुर्सी, कसलाई सोफा अनि को–को बेच्चमा परे भन्नेदेखि कुन नेताले कुन पद त्याग्नुपर्ने वा नपर्ने भन्नेमा बढी केन्द्रित भएको देखिन्छ ।

हामीले परिकल्पना गरेको समाजवादसम्म पुग्ने बाटो हाम्रो पार्टीले तय गर्न सकेको छ कि छैन ? एउटा आदर्श कम्युनिष्ट पार्टीमा हुनुपर्ने विशेषताहरु अझै हाम्रो पार्टीमा बाँकी नै छ ? यतिलामो समयसम्म पार्टी बैठकहरु नियमित नहुदाँ पनि किन हामी चुपचाप छौं ? पार्टी नै समाजवादी पद्दति अनुसार चलेको छैन भने त्यो पार्टीले चलाएको सरकार कसरी समाजवादी हुन सक्छ ? सरकारले पार्टी चलाइरहेको छ कि पार्टीले सरकार ? यी अहिलेका खास प्रश्न र बहसका एजेन्डाहरु हुन् । तर, यी खास एजेण्डाहरुको ढोका नै खोलिएको छैन । बैठकमा राजीनामा, पार्टीको विग्रह र कोही अमूक पात्रलाई हटाउने जस्ता विषयमा छलफल बढी नै देखिन्छ ।

हाम्रो वर्तमान संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख समाज र त्यसलाई हाम्रो पार्टीले डोर्याउने ल्याकत राख्न सक्छ कि सक्दैन ? पार्टीका सबै तह र तप्कामा रहेका नेता कार्यकर्ताहरुले सोच्नै पर्ने बेला आएको छ । साँच्चै हामी विचारधारात्मक रुपले सचेत भएका छौं ? गम्भीर समीक्षा गरौ । भागबन्डा मिले सबै ठीकठाक नमिले त्यही कारण पार्टीलाई बन्धक बनाउने कार्य गैरराजनीतिक मात्र होइन, सैद्धान्तिक रुपमै गलत छ ।

विश्व कोरोनाले आतंकित छ । त्यसबाट नेपाल पनि अछुतो रहेन । सयौं दिनदेखि देश लकडाउनमा छ । लकडाउनकै अवस्थामा धादिङका गरिब सूर्यबहादुर तामाङ र सप्तरीका मलरसदा भोकै मरेको खबर आयो । दिनरात पसिना बगाएको सहरमा भोकै मरिने डरले मजदुरहरु लङमार्चमा निस्किए । लगत्तै कथित तल्लो जातका पुरुषले कथित माथिल्लो उच्च जातको महिलासंग प्रेम गरेको भन्दै सामूहिक हत्या भयो । कोरोनाले मृत्यु भएकाहरुको त एकाध बाहेक मृत्युपछि कोरोना टेष्ट गर्दा रिपोर्ट पोजेटिभ देखियो । १६ वर्षे नौजवान लक्काजवान केटो राजु सदा जम्माजम्मी बाउ आमालाई पाल्ने र ऋण चुक्त गर्ने सपना बोकेर सिमापारी मजदुरीका लागि गएका थिए ।

आज पार्टी किन पार्टीजस्तो नभएर प्राइभेट कम्पनी जस्तो भएको छ ? यसलाई बहसमा ल्याऊँ । आउनुहोस् वृहत छलफल गरौं । पार्टीलाई पार्टीजस्तो बनाऔ । नेता कार्यकर्तालाई जिम्मेवारीबोधका साथ जनताप्रति उत्तरदायी बनाऊँ । नेतृत्वले बाटो बिराउँदा निर्धक्क प्रश्न गर्न सिकौं ।
लकडाउनमा आफ्नै देश फर्कदा हस्पिटलको बेडमा जीवनजलसम्म पीउन नपाएर मृत्युवरण गरे । जुन वर्गको मुक्तिका लागि भनेर हिँडेको त्यही पार्टी राज्यसत्ता सजिलो बहुमतका साथ राज्यको बागडोर समालिरहेको छ उसलाई यस्ता समाचारहरुले पोल्दैन यीनको बारेमा उ मौन बस्छ । पार्टीको कुनै पनि कमिटीमा यिनको बारेमा छलफल बहस हुँदैन । यी भूइमान्छेका मुक्तिका लागि भन्दै मुठी उठाएकाहरुबाटै उनीहरु उपेक्षित छन् निरन्तर । यो गम्भीर विषय हो । यसको विषयमा किन बहस हुँदैन ?

सायद हाम्रो पार्टी नै पार्टीजस्तो भइदिएको भए पार्टीमा जोडिएका कर्ताहरु त्यही पार्टीको कार्यकर्ता जस्तो भइदिएको भए एकमुठि अन्नको अभावमा जहाँजहाँ एउटा गरिबले प्राण नै त्याग्नु पनेै अवस्था सिर्जना भयोे त्यहाँका पार्टी कमिटी र कमिटीको नेता कार्यकर्ता जिम्मेवार हुन्थे । किन यस्तो भयो अबका दिनहरुमा यस्तो अवस्था आउन नदिन के गर्नुपर्छ भन्ने बारे बहस हुन्थे । किसानको तरकारी खाल्टोमा पुरिदै गर्दा, तरकारी नबिकेको अवस्थामा, किसानले मलविऊ र बजार नपाएको अवस्थामा हाम्रो पार्टी कमिटी जिम्मेवार हुन्थे । हाम्रा नेता कार्यकर्ता तिनीहरुप्रति जिम्मेवार भएर तदारुकताका साथ काम गर्थे । जिम्मेवारी पाएको ठाउँमा गैरजिम्मेवार भए पार्टीले उनलाई सजक गर्नेदेखि कारबाही गर्नेसम्मका प्रक्रिया बढाइन्थ्यो । विधि भएको भए यो लाथालिंग अवस्था देख्न पर्ने थिएन । यी एजेण्डाहरुमा बहस खोइ ?

राज्यको अर्थतन्त्र डामाडोल छ । विश्वव्यापी महामारीका कारण लाखौको मजदुरी खोसिएका छन् । तर राज्यले सञ्चाल गरेका उद्योग कलकारखाना खण्डहर भएका छन् । अधमरो अवस्थामा सञ्चालनमा रहेका कारखानामा जिम्मेवार लिएकाहरु निजी कम्पनीहरु पोस्याउने वातावरण बनाउनमै तल्लिन छन् । वर्गबिहिन समाजको परिकल्पना गरेको पार्टीले चलाएको सरकार शिक्षा र स्वास्थ्य जस्ता संवेदनशील क्षेत्र निजीलाई सुम्पने जस्तो लज्जास्पद र आफ्नो उद्देश्य भन्दा उल्टो बाटो हिँड्दा पनि पार्टी गम्भीर छैन ।

पार्टी विधानको बर्खिलापमा आफुले चलाएको सरकार हिँडिरहँदा किन नियमन गर्न सक्दैन ? पार्टी विधानको प्रस्तावनामा उल्लेख भएअनुसार जनक्रान्तिका उपलब्धिहरुको रक्षा गर्दै शान्तिपूर्ण, संवैधानिक र लोकतान्त्रिक बाटोबाट मुलुकको सामाजिक–आर्थिक रुपान्तरण गर्नु र राष्ट्रिय पुँजीको विकास गर्दै सामाजिक न्याय एवम् लोकतान्त्रिक मूल्यसहितको समाजवादको आधार तयार गर्नु यस पार्टीको तत्कालिक लक्ष्य हो । दलाल नोकरशाही पूँजीवादी शोषण, उत्पीडन र साम्राज्यवादी हस्तक्षेपलाई परास्त गर्नु, आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा विद्यमान सामान्तवादका सबै अवशेषहरुलाई समाप्त गर्नु र स्वाधीन राष्ट्रिय अर्थतन्त्रको जगमा समृद्ध नेपाल निर्माण गर्नु यस पार्टीको मूल कार्यभार हुनेछ । यो कुरालाई मूल मन्त्र मान्ने कुरासँग भर्खरै पास भएको बजेटमा सरकारी शिक्षा सुधारका लागि निजी स्कुललाई जिम्मा दिने कुरा यसको बर्खिलाप होइन र ?

अझै उदेकलाग्दो कुरा त देशको अर्थमन्त्री युवाहरु बेच्ने भाषण गरेर हिँडिरहेका छन् । सरकारी उद्योग कलकारखानाको शीर उठाउने, युवालाई स्वारोजगार बनाउने, स्वरोजगार हुन नसक्नेलाई राज्यले जिम्मा लिने कुरा कसले बोलिदिने हो । सायद एउटा सामान्य पार्टी कार्यकर्ताले परिकल्पना गरेको जस्तो आदर्श पार्टी भइदिएको भए यी आवाजहरु सुनिने थिए होलान् ।

विश्वभरि नै कम्युनिष्ट पार्टीमा विधि र प्रक्रियालाई मुलमन्त्रका रुपमा लिने गरिन्छ । कम्युनिष्ट पार्टी जनआधारित पार्टी हो । नेकपाको अन्तरिम विधानमा पनि सोही उल्लेख छ । अन्तरिम विधान २०७५ को प्रस्तावनामा लेखिएको छ पार्टीको सिद्धान्त, कार्यक्रम र नीतिहरुका संगठनात्मक निर्माण तथा सबै तहका कमिटि र सदस्यहरुको सञ्चालन जनवादी केन्द्रियताको संगठनात्मक सिद्धान्तका आधारमा गरिनेछ । सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारीे रहने पनि विधानमा उल्लेख छ ।

साँच्चै हामी केका लागि लडेका थियाँै ? ठेकेदारहरुलाई सांसद र मन्त्री बनाउन ? आफ्ना आसेपासेलाई नियुक्ति दिलाउन ? हुन त अहिलेका यी विरुप अवस्थासम्म आइपुग्नुमा नेताहरुको मात्र दोष छैन । पार्टी कार्यकर्ताहरु पनि असाध्यै लुते भएका छौ । बाटो बिराएको ठाउँमा खोइ प्रश्न गरेको ? सत्ताका चास्नीमा डुबुल्की मार्नेहरुले त के प्रश्न गर्ने ल्याकत राख्थे र ! कम्तिमा ए सच्चा क्रान्तिकारी हो, प्रश्न गर न हौ । स्थायी कमिटीको बैठक जारी छ ।

यसर्थ, आजको समस्या भनेको प्रधानमन्त्री फेर्ने वा नफेर्नेमा होइन । राजीनामा माग्ने र दिनेमा होइन । केही थान मन्त्री र मुख्यमन्त्री फेर्ने वा नफेर्नेको सवाल होइन । कतिजना अध्यक्ष हुने वा नहुनेमा होइन । कुन व्यक्ति असल वा खराव भनेर तराजुमा जोख्ने बेला पनि होइन । मुख्य समस्या त पार्टीलाई पार्टी जस्तो बनाएको छौ कि छैन ? तपाई कसरी चलिराख्नुभएको छ ? पार्टीको मुख्य उद्देश्य के हो ? यो विषयमा नेतृत्व र तमाम कार्यकर्ता जमात एकपटक घोरिनु वाञ्छनीय हुनेछ ।

तसर्थ, अक्टोबर क्रान्तिको बेला जसरी रुसी लालसेनाले हामी केका लागि लडेका थियौं ? भनेर प्रश्नसहित क्रान्तिको लडाइँलाई सरल तर गहन विषयलाई उठान गरेर समग्र क्रान्तिको औचित्यलाई सही मार्गमा डो¥याउन नेतृत्वलाई खबरदारी गरे, आज आम नेकपाका लाखौं कार्यकर्ता र नेतृत्वको बीच यही यक्ष प्रश्न सहित पार्टी काम, आन्दोलन र सरकारका बारेमा र स्वयम् आफ्नो बारेमा आत्माआलोचनासहित अघि बढ्ने हो भने आजको समस्याको समाधान उक्त प्रश्न जस्तै सरल र सहज भएर जानेछ ।

आज पार्टी किन पार्टीजस्तो नभएर प्राइभेट कम्पनी जस्तो भएको छ ? यसलाई बहसमा ल्याऊँ । आउनुहोस् वृहत छलफल गरौं । पार्टीलाई पार्टीजस्तो बनाऔ । नेता कार्यकर्तालाई जिम्मेवारीबोधका साथ जनताप्रति उत्तरदायी बनाऊँ । नेतृत्वले बाटो बिराउँदा निर्धक्क प्रश्न गर्न सिकौं ।

अनलाईन खबर पत्रिका बाट
लेखक:-भक्तकुमारी लामा
(उनि नेकपाकी युवा नेतृ हुन् )

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • नेकपा : बाँच्‍नका लागि एक मात्र बाटो
  • आदिवासी जनजाति महासंघ बुसानको अध्यक्षमा रण ब्लोन तामाङ
  • कोरोना भाइरस:भ्याक्सिनमा सफलता मिल्यो-अक्सफर्ड विश्वविद्यालय
  • कसरी बाँच्छ कम्युनिस्ट पार्टी ?
  • New Update

    Arts

    साँच्चै हामी केका लागि पो लडेका थियौं ?

    सन् १९१७ मा भएको अक्टोबर क्रान्तिमा लालसेनाले बोल्सेविक नेतृत्वलाई सोधे– मलाई भन्नुहोस् म केका लागि लड्दैछु ? कास्तान्पिनोपल अथवा स्वतन्त्र रसियाका लागि ? प्रजातन्त्रका लागि ? वा ...

    प्रदेश सरकारले “परेवाभीर” लाई उपेक्षा गरे पछि माननीय प्रदिपको कविता आयो

    सन्दर्भ बिकासको हो । राक्सिराङ गाउँ पालिका अन्तर्गत पर्ने परेवाभीर सडकमा बागमती प्रदेश सरकारले बजेट विनियोजन नगरे पछि कविता मार्फत माननीय ओम ग्लान(प्रदिप)ले राज्य प्रति आक्रोस पोख्दै ...

    नवराज विक,सुर्य तामाङ,राजु सदाहरूको दुस्मन को ?

    राजुलाई मार्ने दुस्मन को हो ? यो दुस्मनको रूप, स्वरूप कस्तो छ ? युग पाठक यो लेख धेरैपटक बुन्दाबुन्दै उधारियो । पछिल्लोपटक उधारिँदा भेरीको किनारमा उभिएको थिएँ म र भेरीको प्रवाहमा बगेका ...

    Entertainment

    गायक सुर्य रुम्बाको ‘दुई शब्द’लेे दुनियाँलाई मोहित पार्यो (भिडियो सहित)

    दक्षिण कोरिया/शौल । गायक सुर्य रुम्बाको ‘दुई शब्द’ बोलको गीत बजारमा आएको छ । उक्त गीतले दुनियाँलाई मोहित पारेको हो । शुक्रबार अफिसियल रुपमा ...

    महासंघले कार्यक्रमकको आर्थिक विवरण सार्वजनिक

    दक्षिण कोरिया/सिउल/ गत 24 जनवारी 2020 मा "सउल सांगीतिक साँझ'' तथा कोरोना महामारी रोकथाम सामग्री PPE अभियानको आर्थिक प्रतिबेदन नेपाल आदिवासी जनजाति ...

    सुष्मा रानाहँमाको कविता- “सिमा”

    "सिमा" ✍️सुष्मा रानाहँमा समयले कोल्टे फेर्छ भन्थे तर किन गिज्याई रहेछ आफ्नै सिरानीले समाचार पढ्छु देशको लामो सुस्केरा आऊछ अनायास यति ...

    Video