कोरोना कहर:चुनौती तोड्न के गर्ने ?


काठमाडौ/गोपी स्याङ्तान,देवराज जोशी/

अनुसन्धानअनुसार कोरोना भाइरसको संक्रमण दर फरकफरक भए पनि प्राय: एक संक्रमितबाट चार जनालाई सर्न सक्ने देखिएको छ । जुन स्वाइन फ्लूको भन्दा पनि बढी हो ।
वैज्ञानिक युग भनिएको २१औं शताब्दीमा पनि हाम्रो पुस्ताले विश्वभर कोरोना महामारीका कारण अकल्पनीय परिस्थिति सामना गरिरहेको छ । डिसेम्बरमा कोरोना भाइरसको नयाँ प्राजाति चीनको मध्यभागबाट सुरु भएर विश्वका २१० भन्दा बढी देशमा फैलिइसकेको छ । यसको सुरुवाती संक्रमण नै छिमेकी राष्ट्रबाट भएकाले नेपाल कसरी अछुतो रहन सक्थ्यो र ? कोरोनाको इपिसेन्टरबाटै आएका एक विद्यार्थीमा पहिलोपटक नेपालमा संक्रमण देखियो । त्यो घटना नेपालका लागि महामारीको पहिले चरण थियो ।

पहिलो संक्रमित फेला परेको ७२औं दिनसम्म बाह्य आयातित संक्रमण मात्रै देखियो । यद्यपि नेपालमा कोभिड-१९ परीक्षण भने एकदमै न्यून मात्रामा भइरहेको थियो । यसबीच चैत २२ गते पश्चिम नेपाल (कैलाली) मा पहिलोपटक आयातित संक्रमण भएको व्यक्ति (बाहिरबाट आएको) बाट परिवारकै अर्को स्वस्थ मानिस (घरमै बसिरहेका) मा संक्रमण भएको पुष्टि भयो । यससँगै नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको छ । अब नेपालमा पनि विस्तारै संक्रमित व्यक्तिबाट समुदायमा तथा समुदायबाट समुदायमा सर्ने क्रम बढ्न सक्नेछ र अन्ततः महामारीको रुप लिन सक्नेछ । यो हाम्रा लागि कोरोना कहरको दोस्रो/तेस्रो चरण हुनेछ ।
कोरोनाको इपिसेन्टर मानिएको देश चीनसँग सिमाना जोडिएको भए पनि नेपालमा संक्रमण देखिन केही समय लाग्यो । संक्रमण पनि चीनबाट नभई अन्य मुलुकबाट नेपाल छिर्‍यो । यसको कारण नेपालको र कोरोना इपिसेन्टर वुहानसँग नेपालमा सिधा उडान र व्यापारिक सम्बन्ध नहुन सक्छ । यस अवस्थामा संक्रमित अन्य मुलुकबाट पाठ सिक्दै नेपालले पर्याप्त पूर्वतयारी गर्नुपर्ने थियो तर हामीबीच समयको राम्रो सदुपयोग भएन । परिणामस्वरुप हामी अहिले संक्रमण दोस्रो चरणमा पुग्यौं ।

कमजोरीका पाटा :-
संक्रमण सुरु भएको केही दिनमा कोरोना कहरमाथि हामीले पहिलो अध्याय प्रकाशन गरेको थियौं । उक्त लेखमा नेपालमा बाह्य उडान र नागरिक प्रवेशमा रोक लगाउन र सावधानी अपनाउनुपर्नेबारे चर्चा गरिएको थियो । सो अवस्था पार गर्दैगर्दा केही कमीकमजोरी देखिन्छन् ।

अन्य मुलुकमा संक्रमण फैलिँदै गर्दा र विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संकटको घोषणा गरिसक्दा पनि हामी संक्रमण भित्रिनबाट रोक्ने प्रभावकारी रणनीति तर्जुमा गरी कार्यान्वयन गर्नमा चुक्यौं । विज्ञहरुको सल्लाह सुझावलाई बेवास्ता गर्दै अन्तर्राष्ट्रिय हवाई सेवा उडान बन्द गर्न ढिलो गर्नु, सीमानाका ढिलोसम्म खुल्ला गर्नु, प्रवेशद्वारमा हेल्थ स्क्रिनिङमा कमजोरी रहनु, बाहिरी मुलुकबाट नेपाल आएकाहरुको अवस्था यकिन गर्न र निगरानीमा राख्न नसक्नुमा हाम्रो तर्फबाट कमजोरी भयो । थर्मल स्क्यानरको प्रयोग अन्तर्राष्ट्रिय विमानस्थलमा र थर्मल गनको प्रयोग गरी अन्य खुल्ला सीमानाका हुँदै आउने यात्रुको निगरानी गर्न चिकित्सकसहितको हेल्थ डेस्क राखे पनि त्यो पर्याप्त थिएन ।

कोरोना भाइरस बिनालक्षण पनि मानिसको शरीरमा रहन सक्छ । थर्मल स्क्यानर र थर्मल गनबाट शरीरको तापक्रम मात्रै मापन गर्ने हुँदा लक्षण नभएको संक्रमितको पहिचान हुन सकेन र संक्रमित व्यक्तिहरु नेपाल प्रवेश गरे । नेपाल सरकारले विदेशबाट आएका सबैलाई क्वारेन्टाइन गरेर राख्न सक्ने संयन्त्र र क्षमता विकास समयमै गरेन । विदेश र खुल्ला सीमाबाट नेपाल प्रवेश गर्ने हरेक नागरिकलाई प्रदेश र स्थानीय सरकारसँग समन्वय गरी कम्तीमा तीन हप्तासम्म सेल्फ क्वारेन्टाइन र निगरानीमा राख्नुपर्ने थियो । यसरी क्वारेन्टाइनमा बसेका सबै नागरिकको प्रयोगशाला परीक्षण गर्नु जरुरी थियो तर त्यसो पनि गरिएन । त्यति बेलासम्म केन्द्रीय तहमा एउटा मात्रै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले परीक्षण गर्ने गरेको थियो । त्यसको दायरा प्रदेश स्तरसम्म बढाउन आवश्यक सामग्रीको पनि अभाव देखियो । सरकारसँग स्रोतसाधन र दक्ष जनशक्तिको सीमितता रह्यो । संघीय, प्रदेश, स्थानीय ती तहको सरकारको समन्वय राम्रोसँग नहुँदा काठमाडौंबाहिर प्रयोगशाला परीक्षण र निगरानी गर्न ढिलो भयो । अहिले ढिलै भए पनि सबै प्रदेशमा बोक्न मिल्ने सानो आरटी-पीसीआर (Portable RT-PCR) सहित परीक्षणको व्यवस्था गरिएको छ । यद्यपि यो पूर्ण भने होइन ।

हाम्रा मुख्य चुनौती:-

१. नमुना परीक्षणमा कमी : मेडिकल साइन्सले रोगको उपचार गर्न तीन प्रमुख अश्त्र प्रयोग गर्ने गरेको छ- शल्यक्रिया, प्रयोगशाला परीक्षण र औषधि उपचार । यो भाइरस नयाँ भएकोले औषधि बनिनसकेको र शल्यक्रिया पनि गर्नु नपर्ने हुँदा प्रयोगशाला परीक्षण गरी संक्रमितलाई अलग्याएर थप संक्रमण रोक्नु नै मुख्य उपचार पद्धति/विधि हो ।

हालसम्म कोभिड-१९ महामारी सफलतापूर्वक नियन्त्रण गरिरहेका देशका अनुभवबाट सिक्ने हो भने नेपालले प्रयोगशाला परीक्षणको दायरा बढाउनैपर्छ । बढाउनैपर्छ । विश्व स्वास्थ्य संगठन लगायतका अन्य स्वास्थ्य संस्थाले प्रयोगशाला परीक्षणमा जोड दिइरहेका बेला नेपालमा ८४औं दिनसम्ममा जम्मा ६ हजार ८ सय ७१ जनाको मात्रै परीक्षण(पीसीआर विधिबाट) गरिएको छ (अप्रिल १५ सम्म)। त्यस्तैआरडिटी विधिबाट हालसम्म ८ हजार ९२९ जनाको परीक्षण गरिएको छ । (स्रोत: स्वास्थ्य तथा जनसंख्या मन्त्रालय)। हाम्रो जोखिम र जनसंख्याको अनुपातमा यो संख्या अत्यन्तै न्यून मात्राको हो । सरकारले प्रयोगशाला परीक्षणका लागि आवश्यक सामग्री र जनशक्ति व्यवस्थापन गर्न नसक्दा परीक्षणले गति लिन सकिरहेको छैन । नेपालभित्रै विभिन्न विश्वविद्यालय, स्वास्थ्य विज्ञान प्रतिष्ठान र निजी प्रयोगशालासँग भएको उपकरण (आरटी-पीसीआर मेसिन) र जैविक सुरक्षा क्याबिनेट-२ वा सो सरहको व्यवस्था गरी सञ्चालनमा ल्याउन सक्ने भए पनि सरकारी निकायको पहलकदमी र समन्वय अभावमा सञ्चालनमा आउन सकेको छैन ।

गत चैत १० गते त्रिभुवन विश्वविद्यालयले आफूसँग भएका दक्ष प्राविधिक जनशक्ति र उपकरण नेपाल सरकारलाई उपलब्ध गराउन सक्ने जानकारी दिइसकेको भए पनि समोचित प्रयोग गर्न सकिएको छैन । अर्कोतर्फ प्रदेशहरुमा पठाइएका उपकरणले दैनिक थोरैमात्र नमुना परीक्षण गर्न सक्ने हुँदा सबै शंकास्पद बिरामीको परीक्षण गर्न सकिएको छैन ।

कोभिड-१९ बाट कुनै पनि व्यक्ति संक्रमित छ/छैन भन्ने कुरा प्रयोगशालामा अनुवंशिक परीक्षणको नतिजाबाट मात्रै थाहा पाउन सकिन्छ । यद्यपि सेरोलोजिकल विधि (र्‍यापिड टेस्ट किटबाट), भाइरस कल्चर र भाइरसको होल जिनोम सिक्वेन्सिङ (Viral whole genome sequencing) विधिबाट पनि परीक्षण गर्न सकिन्छ । हाल यस्तो आपतकालीन (इमर्जेन्सी) अवस्थामा विश्व स्वास्थ्य संगठनले संक्रमितको पुष्टि गर्न आरटी-पीसीआर विधिबाट न्युक्लिक एसिड एमप्लिफिकेसन टेस्ट (Nucleic Acid Amplification Test- NAAT) नै विश्वसनीय हुने भएकाले सोही प्रयोग गर्न सिफारिस गरिएको छ । यस विधिमा कोरोना भाइरसका विभिन्न प्रोटिन जस्तै: RNA dependent RNA polymerase (RdRp)-P2 /Helcase (hel), Spike (S) and Nucleocapsid (N1,N2,N3) कोट गर्ने जीन भए/नभएको हेर्नुपर्दा । यसमध्ये RdRp-P2 र कुनै दुई वटा N जीनहरु देखिएमा कोरोना भाइरस संक्रमित व्यक्तिको नमुना रहेको पुष्टि हुन्छ (स्रोत: ल्याबरोटरी कर्पोरेसन अफ अमेरिका र डब्लूएचओ)।

अनुवंशिक विधि सबैभन्दा विश्वसनीय भए पनि सही नतिजा प्राप्त गर्न विभिन्न आयामले महत्वपूर्ण भूमिका निर्वाह गरेका हुन्छन् । संक्रमित बिरामीबाट लिने नमुनाको किसिम, संकलन गर्ने विधि, नमुना संकलन गर्न प्रयोग गरिएको सामग्री, नमुनाको मात्रा, नमुना संकलन गर्ने शरीरको भाग, नमुना संकलन गर्ने अवधि, नमुना संकलनपछिको प्याकेजिङ, नमुनाको ओसारपसार, भण्डारण गर्ने तापक्रम, परीक्षणका लागि प्रयोग गर्ने सामग्री (किट वा रिएजेन्ट) र उपकरणको गुणस्तर तथा परीक्षण गर्ने प्राविधिकको दक्षता आदि । प्रयोगशाला विज्ञानको सामान्य नियमअनुसार पनि सही नमुनाबिना सही नतिजाको अपेक्षा गर्न सकिँदैन । नेपालमा अहिलेसम्म परीक्षण गरिएको नमुनामा संक्रमण भेटिने दर न्यून नै छ । यद्यपि परीक्षणजन्य प्राविधिक त्रुटिका कारणमात्रै यस्तो नतिजा आइरहेको भए त्यो देशकै लागि खतरनाक साबित हुन सक्छ । हालसम्म प्राप्त जानकारीअनुसार नमुनाको किसिमले पनि संक्रमण पत्ता लगाउन भूमिका खेल्न सक्छ ।

‘जर्नल अफ अमेरिकन मेडिकल एसोसिएसन’मा प्रकाशित अनुसन्धानअनुसार थ्रोट स्वाबबाट ३२ प्रतिशत र नजल स्वाबबाट ६३ प्रतिशत मात्रै भाइरस संक्रमण पत्ता लगाउन सकिन्छ। त्यसबाहेक अन्य नमुना ब्रोन्कोएल्भिलर लभाज फ्लुइड (Bronchoalvelor Lavage Fliud (BALA) बाट ९३ प्रतिशत, खकारबाट ७२ प्रतिशत, फिब्रोब्रोन्कोस्कोप ब्रस बायोप्सी (Fibrobronchoscope Brush Biopsy) बाट ४६ प्रतिशत, दिसाबाट २९ प्रतिशत र रगतबाट १ प्रतिशतसम्म संक्रमण पत्ता लगाउन सकिने उल्लेख छ। तर शंकास्पद बिरामीको मृत्यु भएमा मृत शरीरको फोक्सोको तन्तु सहितको नमुना परीक्षण गर्न भनिएको छ।

नेपालमा अहिले कोभिड-१९ पत्ता लगाउन थ्रोट स्वाब र नजल स्वाब गरी दुई प्रकारको नमुनाबाट मात्रै परीक्षण गरिएको सुन्नमा आएको छ। परीक्षणको विश्वसनीयता सुनिश्चित गर्न अन्य नमुना पनि परीक्षण गर्दा राम्रो हुन्छ। ‘ResearchSquare : Infectious Disease’ जर्नलमा मा प्रकाशित अनुसन्धानमा शंकास्पद संक्रमित बिरामीको माथिल्लो श्वासप्रश्वासबाट लिएको एउटामात्रै नमुनाको नेगेटिभ नतिजालाई मात्रै विश्वास गर्न नहुने बताइएको छ। उक्त अनुसन्धानले एउटै शंकास्पद बिरामीको फरकफरक समयमा पाँचपटक नमुना परीक्षण गर्दामात्रै पोजिटिभ पुष्टि भएको उल्लेख छ । प्रयोगशाला परीक्षणका साथै शंकास्पद संक्रमित व्यक्तिमा देखिने रोगको लक्षण र छातीको एक्सरेलाई पनि सहयोगी प्रमाणको रूपमा लिनुपर्छ ।

२. प्राविधिक जनशक्तिको अभाव:-

हाम्रो अर्को प्रमुख चुनौती दक्ष जनशक्तिको सीमितता र समोचित व्यवस्थापन नहुनु हो । सहरकेन्द्रित अस्पताल वा स्वास्थ्य संस्थामा दक्ष प्राविधिक जनशक्ति भए पनि ग्रामीण क्षेत्रको स्वास्थ्य संस्थाको अवस्था अत्यन्तै दयनीय छ । प्राविधिक जनशक्ति समेतको अभाव रहेकाले त्यस्तो ठाँउमा नमुना संकलन गर्न कठिन भइरहेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका अनुसार कोभिड-१९ नमुना संकलनका लागि विशेष तालिमप्राप्त ४७ जना प्राविधिक जनशक्ति (वाग्मती प्रदेश-३२, प्रदेश १- २, प्रदेश २- ३, गण्डकी प्रदेश- २, प्रदेश ५- ५, कर्णाली प्रदेश- ३ र सुदूरपश्चिम प्रदेश- २) र केही चिकित्सकमात्रै रहेका छन् । अहिले नेपालको अति जोखिम क्षेत्र मानिएको सुदूरपश्चिम र कर्णाली प्रदेशमा पर्याप्त जनशक्ति नहुँदा नमुना संकलन नै मुख्य चुनौती बनिरहेको छ। यस क्षेत्रको भौगोलिक अवस्था पनि अर्को कारक हुन सक्छ ।

प्रभाव र जोखिम:-

हामीले संक्रमणको दोस्रो चरण पार गर्न नदिनु नै मुख्य चुनौती हो । विभिन्न अनुसन्धानअनुसार कोरोना भाइरसको संक्रमण दर फरकफरक भए पनि प्राय: एक संक्रमितबाट चार जनालाई सर्न सक्ने देखिएको छ । जुन स्वाइन फ्लू (एच१एन१) को भन्दा पनि बढी हो । अहिलेसम्मको तथ्यांकमा यो भाइरसको मृत्युदर ५.९९ भए पनि यो दर दिन प्रतिदिन बढ्दै गइरहेका छ। (स्रोत: डब्लूएचओ, नेचर साइन्स)। त्यसैले सावधानी अपनाउँदाअपनाउदै अकस्मात तेस्रो चरण (समुदायबाट समुदायमा सर्ने चरण) प्रवेश गरेको खण्डमा हाम्रोजस्तो कमजोर स्वास्थ्य संरचना भएको देशलाई संक्रमित बिरामीको व्यवस्थापन र उपचार गर्न निकै कठिन र चुनौतीपूर्ण हुनेछ ।

नेपालमा ज्येष्ठ नागरिक र रोग प्रतिरोधात्मक क्षमता कम भएका बिरामी (दम, क्षयरोग, मुटुरोग, मधुमेह, उच्च रक्तचाप, क्यान्सर, एचआईभी लगायत) पनि उच्चदरमा रहेका छन् । यस्ता दीर्घरोगी/ज्येष्ठ नागरिकमा कोरोनाको संक्रमणबाट गम्भीर प्रकृतिको लक्षण देखिने र मृत्युसमेत हुन सक्ने भएकाले अकल्पनीय मानवीय क्षति बेहोर्नुपर्ने हुन सक्छ ।

थप सुधारका पक्ष:-

रोगको संक्रमण फैलिन नदिनु नै हाम्रो प्रमुख प्राथमिकता हो । अहिलेका लागि स्वास्थ्यकर्मीलाई स्तरीय सुरक्षा कवच, जनचेतना, लकडाउन, प्रयोगशाला परीक्षणको दायरा फराकिलो बनाउने र संक्रमितलाई आइसोलेसनमा राख्ने नै रोग नियन्त्रणका प्रभावकारी कदम हुन् । यसका लागि तत्काल हामीले संक्रमण फैलिएको देशबाट फर्किएका र विभिन्न नाकाबाट वैध/अवैध रूपमा नेपाल प्रवेश गरेका सम्पूर्ण व्यक्तिको पहिचान गर्दै क्वारेन्टाइन गरी सबैको नमुना परीक्षण गर्नुपर्छ । शंकास्पद व्यक्तिमा फरकफरक समयमा फरक नमुनाबाट प्रयोगशाला परीक्षण गरी संक्रमित हो/ होइन सुनिश्चित गर्नुपर्छ । प्रयोगशालाको परीक्षणबाट संक्रमित पुष्टि भए तत्काल लक्षणको अधारमा आइसोलेसन गरी उपचारको व्यवस्था गर्नुपर्छ । यदि संक्रमित नरहेको भए केही समय (२/३ हप्ता) निगरानीमा राख्नुपर्छ ।

अहिले सञ्चालनमा आएको प्रयोगशालाबाहेक ठाँउहरुमा जैविक सुरक्षा क्याबिनेटसहितको (कम्तीमा स्तर-२ वा सो सरहको) प्रयोगशाला केन्द्र स्थापाना, आवश्यक जनशक्ति र गुणस्तरीय रिएजेन्ट वा किटको बन्दोबस्त गरी परिक्षणको दायरा बढाउनुपर्छ । उच्च जोखिममा रहेको सुदूरपश्चिम र कर्णाली प्रदेशमा तत्काल परीक्षणको गतिलाई बढाउनुपर्छ । सामाजिक दूरी कायम गर्न केही समय लकडाउनको अवधि बढाउनुपर्छ । संक्रमित बिरामीको उपचार गर्न अस्पतालहरुमा आईसीयू र भेन्टिलेटर सहितको सुविधालाई थप गर्नुपर्छ । उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, प्राविधिक जनशक्ति र अन्य सुरक्षा निकाय, एम्बुलेन्स चालक र सञ्चारकर्मीलाई व्यक्तिगत सुरक्षा सामग्री प्रबन्ध गरी सबैलाई आआफ्नो कर्तव्य पूरा गर्नका लागि जिम्मेवारीपूर्वक परिचालन गर्नुपर्छ ।

अन्त्यमा,

सीमित स्रोतसाधनका बाबजुद हामीले महामारीविरुद्धको लडाइँ जित्नुपर्नेछ । यसका लागि शंकास्पद संक्रमितको पहिचान, परीक्षण र निगरानी नै मूल मन्त्र हो। यसका लागि सबै सरोकारवालाको हातेमालो आवश्यक छ। संयमतासाथ माथि उल्लिखित कार्यबारे सोचिएन भने हामीले ठूलो मूल्य चुकाउनुपर्ने हुन सक्छ । यो महामारीले हाम्रो देशको स्वास्थ्य संरचना, स्वास्थ्य संस्थाको सामर्थ्य र जनशक्तिको अभावलाई समीक्षा गर्ने बाटो पनि देखाउनेछ ।

कान्तिपुरबाट साभार आलेख हन् :-
-जोशी माइक्रोबायोलोजी केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक हुन् भने स्याङ्तान त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा आबद्ध छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • नेकपा : बाँच्‍नका लागि एक मात्र बाटो
  • आदिवासी जनजाति महासंघ बुसानको अध्यक्षमा रण ब्लोन तामाङ
  • कोरोना भाइरस:भ्याक्सिनमा सफलता मिल्यो-अक्सफर्ड विश्वविद्यालय
  • कसरी बाँच्छ कम्युनिस्ट पार्टी ?
  • New Update

    Arts

    साँच्चै हामी केका लागि पो लडेका थियौं ?

    सन् १९१७ मा भएको अक्टोबर क्रान्तिमा लालसेनाले बोल्सेविक नेतृत्वलाई सोधे– मलाई भन्नुहोस् म केका लागि लड्दैछु ? कास्तान्पिनोपल अथवा स्वतन्त्र रसियाका लागि ? प्रजातन्त्रका लागि ? वा ...

    प्रदेश सरकारले “परेवाभीर” लाई उपेक्षा गरे पछि माननीय प्रदिपको कविता आयो

    सन्दर्भ बिकासको हो । राक्सिराङ गाउँ पालिका अन्तर्गत पर्ने परेवाभीर सडकमा बागमती प्रदेश सरकारले बजेट विनियोजन नगरे पछि कविता मार्फत माननीय ओम ग्लान(प्रदिप)ले राज्य प्रति आक्रोस पोख्दै ...

    नवराज विक,सुर्य तामाङ,राजु सदाहरूको दुस्मन को ?

    राजुलाई मार्ने दुस्मन को हो ? यो दुस्मनको रूप, स्वरूप कस्तो छ ? युग पाठक यो लेख धेरैपटक बुन्दाबुन्दै उधारियो । पछिल्लोपटक उधारिँदा भेरीको किनारमा उभिएको थिएँ म र भेरीको प्रवाहमा बगेका ...

    Entertainment

    गायक सुर्य रुम्बाको ‘दुई शब्द’लेे दुनियाँलाई मोहित पार्यो (भिडियो सहित)

    दक्षिण कोरिया/शौल । गायक सुर्य रुम्बाको ‘दुई शब्द’ बोलको गीत बजारमा आएको छ । उक्त गीतले दुनियाँलाई मोहित पारेको हो । शुक्रबार अफिसियल रुपमा ...

    महासंघले कार्यक्रमकको आर्थिक विवरण सार्वजनिक

    दक्षिण कोरिया/सिउल/ गत 24 जनवारी 2020 मा "सउल सांगीतिक साँझ'' तथा कोरोना महामारी रोकथाम सामग्री PPE अभियानको आर्थिक प्रतिबेदन नेपाल आदिवासी जनजाति ...

    सुष्मा रानाहँमाको कविता- “सिमा”

    "सिमा" ✍️सुष्मा रानाहँमा समयले कोल्टे फेर्छ भन्थे तर किन गिज्याई रहेछ आफ्नै सिरानीले समाचार पढ्छु देशको लामो सुस्केरा आऊछ अनायास यति ...

    Video