अमेरिका जाने जंगलको बाटो


जनकराज सापकोटा
काठमाडौँ — झन्डै एक वर्षअघि अमेरिकाको टुफट्स युनिभर्सिटीअन्तर्गतको इन्स्टिच्युट अफ ह्युमन सेक्युरिटीले प्रोफेसर किम विल्सनको नेतृत्वमा एउटा अनुसन्धान सुरु गर्‍यो  । मेडिटेरिन समुद्र तरेर युरोप गैरकानुनी रूपमा युरोप छिर्न हिँडेका आप्रवासीमाथि अनुसन्धान गरेका प्रोफेसर किम यसपाला एटलान्टिक समुद्र तरेर गैरकानुनी रूपमा अमेरिका छिर्न हिँडेकाहरूको आर्थिक पक्षमाथि अध्ययन गर्दै थिए  ।

विश्वविद्यालयले उक्त अध्ययनका निम्ति १३ जना सहयोगी अनुसन्धानदाताहरूको खोजी सुरु गर्‍यो । सोही विश्वविद्यालयमा ल एन्ड डिप्लोमेसीमा स्नातकोत्तर गर्न पुगेका पाटनका सुबिन मुल्मी यसमध्ये एक भए । उनको काम थियो— अवैध रूपमा अमेरिका छिर्न मानव तस्करहरूको जालोमा परेका नेपालीहरूसँग अन्तर्वार्ता गर्नु ।
अनुसन्धान टोली २०१८ को मेमा मध्यअमेरिकी देश कोस्टारिका पुग्यो । कोस्टारिकाले उक्तरको लात्रुज र दक्षिणको पासाकानुस दुई ठाउँमा सेल्टर नै बनाएर अवैध रूपमा अमेरिका छिर्न हिँडेकाहरूलाई आश्रय दिएको छ । विभिन्न देशबाट पानामा हुँदै कोस्टारिकाको क्याम्पमा आइपुगेकाहरू महिनौं लामो अवैध यात्रा, अनेकन झन्झट, लाखौं रुपैयाँको खर्च र जोखिम बेहोरेर पुग्नेमा भारतीय, बंगलादेशी, पाकिस्तानी, अफ्रिकीका अलावा नेपाली पनि थिए । सुबिनले क्याम्पमा छिरेर तिनै नेपालीसँग लामो अन्तर्वार्ता गरे ।

कोस्टारिकाको क्याम्पमा आइपुगेका सबैसँग हप्तौं लामो अवैध यात्राको अनुभव थियो । अमेरिका सपना देखेर नेपालबाट हिँडेकामध्ये धेरैजसो भारतको बाटो हुँदै दुबई, रुसको राजधानी मस्को, इटालीको मिलान, फ्रान्सको पेरिस, ब्राजिलको रियो, पेरु, इक्वेडर, कोलम्बिया, पानामा हुँदै कोस्टारिका थिए । यो यात्रा औसतमा महिना दिनदेखि चार–पाँच महिनासम्मको थियो । सुबिनको अध्ययनअनुसार यो अवैध यात्रामा सबैभन्दा धेरै दुःख कोलम्बियाको सिमाना सुरु भएपछि हुन्छ । देशैपिच्छेका फरकफरक एजेन्टले तारतम्य मिलाएकै भरमा सजिलै अवैध ज्ञपमा सीमा छिर्न सकिए पनि कोलम्बियामा भने सहज हुँदैन । सुबिनले कोस्टारिकामा भेटेका नेपालीबाट थाह पाएअनुसार कोलम्बिया छिर्ने बेलामा अक्सर शरणार्थीहरू त्यहाँका पुलिसबाटै लुटिन्छन् ।

Citizen

कोलम्बियाको डरलाग्दो डेरियन जंगल
लुटिएरै कोलम्बिया छिरेकाहरू समुद्री तटमा रहेको टुर्बो भन्ने सानो सहरबाट ९० किलोमिटर दूरीमा रहेको कपुरगाना भन्ने ठाउँमा डुंगा चढेर पुग्दा रहेछन् । त्यसपछि शरणार्थीहरूको सबैभन्दा दुसाध्य यात्रा सुरु हुन्छ । कोलम्बिया र पानामाको सीमामा पर्ने डेरियन ग्याप भनिने घना जंगल खतरनाक मानिन्छ । यो जंगलमा विषालु सर्प मात्र छैनन्, १९६४ देखि सरकारसँग लडिरहेका कोलम्बियाविरोधी हतियारधारी गुरिल्ला समूहसमेत छन् । क्युबा, सोमालिया, सिरिया, बंगलादेश, नेपाललगायतका अफ्रिका र एसियाली देशबाट अमेरिका छिर्न हिँडेकाहरूलाई मानव तस्करका एजेन्टहरूले यही बाटो हिंडाउने गरेको तथ्य आईओएमले पनि उल्लेख गरेको छ । संयुक्त राष्ट्रसंघअन्तर्गतको आईओएमले निकालेको माइग्रेसन एन्ड माइग्रेन्ट्स ः अ ग्लोबल ओभरभ्यु शीर्षकमा २०१६ मा प्रकाशित प्रतिवेदनले यो डरलाग्दो जंगली यात्रालाई ‘घोस्ट ट्रेल’ को नाम दिएको छ । प्रतिवेदनमा लेखिएको छ, यही जंगल छिचोल्नेहरू प्रत्येक वर्ष सयौं जना सशस्त्र समूहबाट मारिन्छ वा बेपत्ता बनाइन्छन् ।

लागूऔषध तस्करहरूको मुख्य मार्ग रहेको भनिएको डेरियन जंगलको सुरक्षामा खटिएका अर्धसैनिक बलसँग सेटिङ मिलाएर मानव तस्करहरूले हप्तौंसम्म हिँडाउने गरेको सुबिनले बताए । जंगल कटाउन खटिने डोंगर भनिने स्थानीय एजेन्टहरू भरपर्दा त हुँदैनन् नै, उनीहरू शरणार्थीसँग पैसा भएको थाहा पाए वा बहुमूल्य सामान भएको थाहा पाए लुटिहाल्छन् । त्यसैले पनि यो यात्रा कटेर पानामा आइपुगेकाहरूलाई भाग्यमानी मानिदो रहेछ । सुबिनका अनुसार सामान्यतया पाँच सात दिनमा पार गर्न सकिने घना जंगलमा बाटो देखाउने एजेन्टहरूले हप्तौं घुमाइरहन्छन् । प्रतिदिन २० डलर शुल्क लिएर दिन गन्तीका हिसाबले पैसा पाउने भएकाले उनीहरूले यसरी ‘शरणार्थी’ हरूलाई भोकै प्यासै जंगलमा अल्झाइहन्छन् । अवैध रूपमा सीमा पार गर्ने यो यात्रामा कोही अर्धसैनिक बलको फेला पर्छन् त कोही लागूऔषध तस्करको । वर्षायाममा यो जंगल भएर बग्ने खोला तर्न डुंगा प्रयोग गरिन्छ भने हिउँदमा पानीमा हेलिनुको विकल्प छैन ।

यही जंगलको बीचमा एउटा पहाड छ । घना जंगलमा भोकैप्यासै हप्तौं हिंडेकाहरू केही त पहाड चढ्न नसकेरै फर्किन्छन् । पहाड चढ्ने बल भएकाहरू भने बल्लतल्ल सीमा पार गरेर पानामा पुग्छन् । अन्तर्वार्तामा एक नेपालीले यही पहाड चढ्न नसकेका एक नेपाली सहयात्रीलाई आफूले जंगलमै छोडेको बताएका थिए । अर्का अफ्रिकी शरणार्थीले यही जंगल यात्रामा आफूले श्रीमती गुमाएको कथा सुनाएका थिए । क्याम्पमा भेटिएकी एक तिब्बती मूलकी नेपालीले भने आफू नदी तर्दा झन्डै डुबेको बताएकी थिइन् ।

पनामा कट्नेलाई मान्छेको जुनी

यसरी भोकै प्यासै जंगल छिचोलेर हिँडेकाहरू संगठित मानव तस्करको सञ्जालको सहयोगमा पनामाको क्याम्पमा आइपुग्छन् । पनामाले यस्ता अवैध यात्रीहरूलाई राख्नका निम्ति तीनवटा क्याम्प सञ्चालनमा ल्याएको छ । जहाँ एक डलर तिरेर भुइँमै एक रात सुत्न पाइन्छ । सुबिन कोस्टारिका पुगेका बेला पनामाले आफ्नो क्याम्पमा रहेकाहरूलाई प्रत्येक दिन एक सय जनाको दरले बाहिर निकाल्ने नीति लिएको थियो । यसरी पनामा क्याम्पबाट निस्केका एक सय जनाको लस्कर ४५ डलर शुल्क तिरेर कोस्टारिका बस चढेर कोस्टारिका छिर्छन् । सुबिनले कोस्टारिकाको दक्षिणमा अवस्थित पासाकानोस भन्ने स्थानमा रहेको शरणार्थी क्याम्पमा पुगेको सय जनाको एउटा लस्करमा १६ जना नेपाली रहेको भेट्टाए । अनि यस्तै सय जनाको दोस्रो लस्करमा भने ९ जना नेपाली थिए ।

पनामा सीमा छिचोलेर कोस्टारिकाको क्याम्पमा पुगेकाहरूले मान्छेको जुनी पाएको अनुभूति गर्दा रहेछन् । किनकि त्यहाँ पुगेकाहरूले खाना, निःशुल्क स्वास्थ्य सुविधा र ३० दिनसम्म त्यहाँ बस्ने अनुमति पाउँछन् । हप्तौं नुहाउनसम्म नपाएकाहरू यही क्याम्प आइएपछि धीत मरुन्जेल नुहाउँछन् । साथमा बोकेको पैसा गुमाएका/सकिएका नेपालीले यहीं पुगेपछि खाडी वा युरोप अमेरिकामा रहेका आफन्त/साथीभाइबाट आगामी यात्राको निम्ति पैसा मगाउँछन् । भारतीय शरणार्थीहरूले भने मनी ट्रान्सफरमार्फत स्थानीय होटलवालाको नाममा पैसा झिकाउने गरेका छन् । होटलवालाले कमिसन कट्टी गरेर बाँकी रकम दिन्छन् ।

सुबिनले पासाकानोसको क्याम्प नजिकै रहेको होटल एसियामा पनि दुई नेपाली शरणार्थीहरूलाई भेटे । क्याम्पमा एक रात बिताएकाहरू आफ्नो एजेन्ट खोज्दै स्थानीय एजेन्टले चलाएको उक्त होटलमा बस्न आउँदा रहेछन् । हरेक देशैपिच्छेका एजेन्टहरूले आफूले अमेरिका छिराउन हिँडाएहरूको अनौपचारिक समूह बनाएका हुन्छन् । ह्वाट्सएप मार्फत हुने संवादबाटै यस्तो ग्रुपका सदस्यहरूको पहिचान हुन्छ । सुबिनका अनुसार अवैध रूपमा अमेरिका छिर्न हिंडेकाहरू आफ्नो देशमा भार बनेर नबसुन् भनेर कोस्टारिका सरकारले नै सुरक्षित रूपमा उनीहरूलाई अर्को देश पठाउने नीति अख्तियार गरेको छ । हरेक देशको समूहमा एजेन्टले एक जना नाइके तोकेको हुन्छ । यस्तो नाइकेलाई एजेन्टहरूले नै केही सुविधा दिने गरेको सुबिनले बताए ।

‘भुलेर पनि नआउनुस्’
सुबिनले कोस्टारिकामा भेटेका नेपालीमा कोही वकिल थिए, कोही स्कुलका प्रधानध्यापक पनि थिए । एक जना फोटोकपी पसल चलाउँदाचलाउँदै अमेरिका जाने भनेर हिँडेका थिए । एक जना कतारको चार पाँच वर्षको कमाइमा अरू पैसा ऋण गरेर हिँडेका थिए । केही नेपाली त १४–१५ वर्षका थिए । उनीहरूले उमेर ढाँटेर १८ वर्ष भएको भन्दै नागरिकता र राहदानी बनाएका थिए । ‘कोस्टारिकासम्म आइपुग्दाको झन्झट र तनावले उनीहरू मानसिक रोगीजस्तै भइसकेका थिए,’ सुबिनले भने । ‘मैले भेटेजति सबैले अमेरिका छिर्ने बाटोबारे सोध्थे,’ सुबिन भन्छन् । उनले केही यात्रीलाई ‘तपाईंजस्तै तरिकाले अमेरिका छिर्न हिँडेकाहरूलाई के भन्नुहुन्छ ?’ भनेर सोध्दा सबैले एउटै उत्तर दिन्थे, ‘भुलेर पनि नआउनुस् ।’ उनले भेटेकामध्ये अधिकांशले तीस लाखजति खर्च गरिसकेका थिए र थप १५ लाखसम्म खर्चिन तयार थिए । अमेरिका हिँडेकाहरूले दिल्ली पुगेपछि पहिलो किस्ता, कोस्टारिका पुगेपछि दोस्रो किस्ता र मेक्सिको पुगेपछि तेस्रो किस्ता बुझाउने सामान्य चलन रहेछ । किस्ताकिस्तामा दलाललाई बुझाउने यतिका धेरै रकम नेपालीले कसरी पाए ? सुबिनले आफूले नभेटेको प्रश्न सुनाउँदै भने, ‘छक्कै पर्छु । यसको उत्तर अझै भेटेको छैन ।’

कोस्टारिका छिर्नेबित्तिकै अमेरिका पुगिने भने होइन । यहाँ केही दिन बिताएर निस्केकाहरू निकारागुवा, होन्डुरस, ग्वाटेमाला, मेक्सिको हुँदै अमेरिका छिर्ने प्रयास गर्छन् । यो यात्राबाट अमेरिका पुगिन्छ नै भन्ने पक्का चाहिँ छैन । सुबिनले आफ्नो अनुसन्धान अवधिको निष्कर्ष सुनाउँदै भने, ‘कोही अंगभंग भएर, कोही बिरामी भएर अमेरिका छिर्छन । कोही बिचमै हराउँछन, कोही बिचमै ज्यान गुमाउंछन ।’
कोस्टारिकाको क्याम्पबाट निस्केपछि अवैध रूपमा निकारागुवा छिर्न चार–पाँच दिनको जंगल यात्रा नगरी सुखै छैन । कोही–कोही कोस्टारिकाबाट समुद्री बाटो हुँदै निकारागुवा नपुगी सोझै होन्डुरस पुग्ने छोटो बाटो पनि रोज्छन् । यो अवैध जल यात्रा जति अप्ठ्यारो छ उति नै खर्चिलो पनि । कोस्टारिका–निकारागुवा सिमानामा सधैं बिहान १० देखि ५ बजेसम्म सेनाको गस्ती चल्छ । त्यही भएर मानव तस्करले शरणार्थीहरूलाई ४–५ दिनसम्मै रातिको समय जंगलको बाटो हिँडाएर सीमा कटाउँछन् । यो अमेरिका छिर्ने लागूऔषध तस्करीको मुख्य बाटो भएकाले अझै बढी खतराको सामना गर्नुपर्छ ।

निकारागुवामा गोली खाएका नेपालीको कथा
सुबिनले यही बाटो हुँदै निकारागुवा छिर्दा सेनाको गोली खाएका नेपालीको कथा सुनाए । गोली लागेपछि दुइटा सर्जरी गरेर तीन महिनासम्म अस्पतालमा उपचार, र दुई महिना थुनामा बसेपछि उनलाई निकारागुवाले कोस्टारिका नै फर्काइदिएछ । ती नेपालीले आफू अब धेरै हैरानी सहन नसक्ने भन्दै नेपाल फर्किन चाहिरहेका थिए । उनको परिवारका सदस्यले भने केही महिना त्यतै भुलेर सन्चो भएपछि अमेरिका जान सुझाइरहेका थिए । उनको कथा सुनेपछि सुबिनको मनमा प्रश्न जन्मियो, ‘यो कस्तो अमेरिका मोह हो ?’
ती नेपाली अमेरिकास्थित नेपाली दूतावासको पहलमा तीन महिनापछि आफ्नै खर्चमा नेपाल फर्किएको सुबिनले थाहा पाए ।
आईओएमको सन् २०१६ को प्रतिवेदनमा २०१६ मा मात्रै अवैध रूपमा युरोप र अमेरिकालगायतका देशमा छिर्न खोज्ने ७ हजार ९ सय २७ जनाको मृत्यु भएको वा बेपत्ता भएका थिए । मृत्यु र बेपत्ता हुनेहरूको यस्तो संख्यामा नेपालीहरूको संख्या यकिन छैन । लामो जंगल हिंडाइपछि बस वा कन्टेनरभित्र लुकेर नेपालीहरू निकारागुवा छिर्छन् । त्यहाँबाट होन्डुरस, ग्वाटेमाला हुँदै मेक्सिको पुग्छन् । मेक्सिकोबाट अमेरिका छिर्ने मार्गहरू भने वर्षैपिच्छे फेरिइरहन्छ । सुबिनका अनुसार एकताका मरुभूमि हुँदै जाने चलन थियो । पछिल्लो समय तिख्वाना नदी तरेर अमेरिकाको सान डियागो छिर्ने क्रम बढेको छ ।

अमेरिकी सीमा प्रवेश गरेर शरणार्थीका रूपमा ‘डिटेन्सन’ क्याम्पमा बसेपछि पनि नेपालीको दुःख सकिँदैन । उक्त क्याम्पबाट बाहिर निस्कँदा धरौटी बुझाउनैपर्छ । यो धेरौटी प्रायः १० देखि १२ लाख हुने भए पनि कसैकसैले त चालीस लाखसम्म तिरेका छन् । धरौटी बुझाएर निस्केका नेपालीहरू ज्याक्सन हाइट, टेक्सास र बाल्टिमोरमा रहेको नेपाली र भारतीय ल फर्ममार्फत आफ्नो कानुनी लडाइँ सुरु गर्छन् । दुई तीन वर्षदेखि आठ दस वर्ष लामो कानुनी प्रक्रियापछि मात्रै नेपालीहरूले वैधानिक हैसियत प्राप्त गर्छन् । त्यहाँ कानुनी हैसियत पाउन मुद्दामा फेरि खर्च गर्छन् । अक्सर एक जनाले १०–१५ लाख मुद्दामै खर्चिन्छन् ।

अन्तिममा मैले सुबिनलाई सोधे— यत्रो दुःख र खर्च गरेर अमेरिका पुगेका नेपालीहरूले त्यहाँ के पाउने रहेछन् ?
सुबिनले गम्भीर भावमा भने, ‘खै के पाउँछन् । मैले पनि बुझ्न सकेको छैन । ज्यानको बाजी थापेर गरिने अवैध यात्रा, परिवारसँग महिनौंको सर्म्पक विच्छेद र वर्षौंसम्म भेट्न नपाउँदाको छटपटी, मुद्दा मामिला, कागजी खेल र दौडधुपमा बित्ने ऊर्जाशील उमेर ! अनि अन्तिम भाग्यमा लेखेकै रैछ भनेर हात पर्ने अमेरिकाको वैधानिक हैसियत । म आफैं अचम्ममा पर्छु ।’
From kantipur daily

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • साँच्चै हामी केका लागि पो लडेका थियौं ?
  • प्रदेश सरकारले “परेवाभीर” लाई उपेक्षा गरे पछि माननीय प्रदिपको कविता आयो
  • नवराज विक,सुर्य तामाङ,राजु सदाहरूको दुस्मन को ?
  • गायक सुर्य रुम्बाको ‘दुई शब्द’लेे दुनियाँलाई मोहित पार्यो (भिडियो सहित)
  • New Update

    Arts

    साँच्चै हामी केका लागि पो लडेका थियौं ?

    सन् १९१७ मा भएको अक्टोबर क्रान्तिमा लालसेनाले बोल्सेविक नेतृत्वलाई सोधे– मलाई भन्नुहोस् म केका लागि लड्दैछु ? कास्तान्पिनोपल अथवा स्वतन्त्र रसियाका लागि ? प्रजातन्त्रका लागि ? वा ...

    प्रदेश सरकारले “परेवाभीर” लाई उपेक्षा गरे पछि माननीय प्रदिपको कविता आयो

    सन्दर्भ बिकासको हो । राक्सिराङ गाउँ पालिका अन्तर्गत पर्ने परेवाभीर सडकमा बागमती प्रदेश सरकारले बजेट विनियोजन नगरे पछि कविता मार्फत माननीय ओम ग्लान(प्रदिप)ले राज्य प्रति आक्रोस पोख्दै ...

    नवराज विक,सुर्य तामाङ,राजु सदाहरूको दुस्मन को ?

    राजुलाई मार्ने दुस्मन को हो ? यो दुस्मनको रूप, स्वरूप कस्तो छ ? युग पाठक यो लेख धेरैपटक बुन्दाबुन्दै उधारियो । पछिल्लोपटक उधारिँदा भेरीको किनारमा उभिएको थिएँ म र भेरीको प्रवाहमा बगेका ...

    Entertainment

    गायक सुर्य रुम्बाको ‘दुई शब्द’लेे दुनियाँलाई मोहित पार्यो (भिडियो सहित)

    दक्षिण कोरिया/शौल । गायक सुर्य रुम्बाको ‘दुई शब्द’ बोलको गीत बजारमा आएको छ । उक्त गीतले दुनियाँलाई मोहित पारेको हो । शुक्रबार अफिसियल रुपमा ...

    महासंघले कार्यक्रमकको आर्थिक विवरण सार्वजनिक

    दक्षिण कोरिया/सिउल/ गत 24 जनवारी 2020 मा "सउल सांगीतिक साँझ'' तथा कोरोना महामारी रोकथाम सामग्री PPE अभियानको आर्थिक प्रतिबेदन नेपाल आदिवासी जनजाति ...

    सुष्मा रानाहँमाको कविता- “सिमा”

    "सिमा" ✍️सुष्मा रानाहँमा समयले कोल्टे फेर्छ भन्थे तर किन गिज्याई रहेछ आफ्नै सिरानीले समाचार पढ्छु देशको लामो सुस्केरा आऊछ अनायास यति ...

    Video