समाजवादमा पुग्ने कसरी ?


युवराज ज्ञवाली
कुनै पनि मुलुकको आर्थिक सामाजिक व्यवस्था त्यहाँको ठोस विशेषतामा आधारित हुन्छ । नेपालको संविधानमा मुलुकलाई समाजवादको दिशामा अघि बढाउने उल्लेख गरिएको छ । यो संविधान, आमनेपाली जनताको जनादेशको परिणाम हो । नेपालको सन्दर्भमा कस्तो किसिमको समाजवाद आवश्यक छ र त्यो कसरी प्राप्त हुन्छ भन्नेबारे नेपाली समाजमा गम्भीर विवाद कायम छ ।

नेपाली समाज, विभिन्न वर्ग, जाति, धर्म, भाषा, संस्कृति र विविध किसिमको भौगोलिक विशेषतामा आधारित छ । त्यस्तै नेपाली राजनीतिमा निरंकुशताविरुद्ध विभिन्न राजनीतिक दल मिलेर अघि बढेसँगै आपसमा प्रतिस्पर्धा गर्दै अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रको नयाँ युगसम्म आइपुगेको अवस्था छ । नेपाली समाजमा एकातिर विविधताबीच निरन्तर संघर्ष छ भने अर्कातिर समाजको मूलभूत समस्या समाधानका लागि एकता पनि उत्तिकै जरुरी छ । यसरी विविधताबीचको एकता र संघर्षको निरन्तरताको द्वन्द्वात्मक प्रक्रियाका आधारमा नेपाली समाज सञ्चालित छ ।

समाजका विभिन्न अन्तर्विरोध समाधान गर्ने क्रममा नेपालमा जनवादी क्रान्ति सम्पन्न भएको छ । यो क्रान्ति केही शताब्दीअघि पश्चिमा मुलुकमा पुँजीपतिवर्गको नेतृत्वमा सम्पन्न पुरानो खाले पुँजीवादी क्रान्ति, सन् १९१७ मा रुसमा सम्पन्न अक्टोबर समाजवादी क्रान्ति र चीनलगायत केही मुलुकमा कम्युनिस्ट पार्टीको नेतृत्वमा सम्पन्न नयाँ जनवादी क्रान्तिभन्दा भिन्न र विशिष्ट चरित्रको छ ।

तर, यो क्रान्तिमा नेपालको पुँजीवादी पार्टी र श्रमजीवी वर्गको पार्टीको संयुक्त नेतृत्व रहे पनि कम्युनिस्ट पार्टीको भूमिका प्रमुख र निर्णायक रहनु अनि नेपाली समाजलाई समाजवादको दिशामा अघि बढाउने व्यवस्था संविधानमै उल्लेख गरिनुले सारतः यो नयाँ किसिमको जनवादी क्रान्ति भएको विषयमा अन्योलमा पर्नुपर्ने आवश्यकता छैन । यो जनवादी क्रान्तिले राजतन्त्रसँगै मूलतः सामन्तवादको अन्त्य गर्‍यो, तर अहिले पनि नेपाली अर्थतन्त्रमा दलाल तथा नोकरशाही पुँजीवादको नियन्त्रण भने कायमै छ । त्यसैले जनवादी क्रान्तिका थप कार्यभार पूरा गर्न कम्युनिस्ट पार्टीको नेतृत्वमा तीव्र रूपमा उत्पादनशील पुँजीको विकास गर्दै समाजवादको दिशामा अघि बढ्नुपर्ने आवश्यकता छ ।

यतिवेला नेपाली समाजलाई समाजवादको दिशामा अघि बढाउन सर्वप्रथम यहाँको प्रधान र आधारभूत अन्तर्विरोध निक्र्योल गर्नु अनिवार्य हुन्छ । यस सम्बन्धमा लामो व्याख्या, विश्लेषण आवश्यक छ । संक्षिप्त रूपमा आमनेपाली जनता र दलाल तथा नोकरशाही पुँजीवादसँगको अन्तर्विरोध प्रधान अन्तर्विरोधका रूपमा रहेको छ । मूलभूत रूपमा सो अन्तर्विरोधको समाधानसँगै नेपाली समाज, समाजवादको प्रारम्भिक चरणमा प्रवेश गर्नेछ । त्यस्तै नेपाली जनताको बढ्दो भौतिक आवश्यकता र पछौटे उत्पादन प्रणालीबीचको अन्तर्विरोध आधारभूत अन्तर्विरोधका रूपमा प्रकट भएको छ । अन्तर्विरोध समाधानको प्रक्रियासँगै मुलुक समाजवादको प्रारम्भिक चरणबाट समुन्नत समाजवादको दिशामा अघि बढ्नेछ ।

नेपालको सन्दर्भमा विगत दशकौँदेखि जनवादी क्रान्ति नेपाली श्रमजीवी जनताको रणनीति लक्ष्य र न्यूनतम कार्यक्रमको रूपमा रहँदै आयो । जनवादी क्रान्ति सम्पन्न भएसँगै अहिले पुरानो रणनीतिक चरण अन्त्य भएको छ । अहिलेको यो अवस्था भनेको समाजवादको आधार निर्माण गर्ने संक्रमणकालीन अवस्था हो । त्यसैले समाजवाद यति वेलाको न्यूनतम रणनीतिक लक्ष्य हो । जनवादी क्रान्ति सम्पन्न भइसकेको अवस्थामा जनवादलाई नै न्यूनतम लक्ष्य बनाउन खोज्नु पुँजीवादकै गोलचक्करमा फन्को मार्ने दृष्टिकोणबाहेक केही होइन । त्यसले मुलुकलाई समाजवादमा पुर्‍याउँदैन ।

विगतमा जसरी जनवादी कार्यक्रम रणनीतिक लक्ष्य थियो, क्रान्तिपछि यतिवेला त्यो कार्यान्वयनको अवस्थामा आइपुगेको छ । त्यसैले जनवादी क्रान्तिका थप कार्यभार पूरा गर्न अहिलेको रणनीतिक लक्ष्यको मातहत, कार्यनीतिक कार्यक्रम लागू गर्नु र समाजवादको बलियो जग निर्माण गर्नु अहिलेको मूल आवश्यकता हो । एउटा विशाल भवनको जग निर्माण गर्नु र समाजवादका लागि जनवादी कार्यक्रम लागू गर्नु उस्तै–उस्तै विषय हो । अर्थात्, जग निर्माण गर्नु, भवन निर्माण कार्यको सुरुवात हो । जसरी जग र भवनको सम्बन्ध आपसमा जोडिएको छ, जनवाद र समाजवादबीचको सम्बन्ध पनि त्यसरी नै गाँसिएको छ । त्यसैले नयाँ खाले जनवाद समाजवादको एउटा अंग मात्रै हो । माओत्से तुङले भने जनवाद समाजवादको आधार हो भने समाजवाद जनवादको परिणाम हो । यसलाई अर्को अर्थमा समाजवादको तयारी पनि भन्न सकिन्छ ।

विश्वमा समाजवादका अनेक परिभाषा र व्याख्या छन् । तर, मार्क्सवादले संक्षिप्त रूपमै भए पनि व्याख्या गरेको समाजवादका केही आधारभूत मान्यता छन्, जसलाई वैज्ञानिक समाजवाद भनिन्छ । संसारका मार्क्सवादीमा वैज्ञानिक समाजवादका केही सारभूत पक्षमा समानता रहे पनि त्यसको रूप पक्षमा भने परिस्थितिको सापेक्षतामा भिन्नता हुनु स्वाभाविक छ । खासगरी, उत्पादनका साधनमाथिको सामूहिक स्वामित्व, योग्यताअनुसार काम र कामअनुसारको दाम, राजनीतिक स्वतन्त्रता, शोषणको अन्त्य र आर्थिक, सामाजिक, सांस्कृतिक समानता जस्ता विषय समाजवादका आधारभूत तत्व हुन् । त्यसैले, हाम्रो देशलाई समाजवादको अवस्थामा पुर्‍याउनका लागि तत्काल जनवादी चरणका बाँकी कार्यभार पूरा गर्नुपर्ने आवश्यकता छ ।

समाजवादको बलियो जग निर्माणका लागि, निजी, सहकारी र सार्वजनिक गरी मूलतः तीनखम्बे अर्थतन्त्रबीचको आपसी सहकार्य र प्रतिस्पर्धाका आधारमा मुलुक आर्थिक विकास र समृद्धिको दिशामा अघि बढ्छ । समाजवादको प्रारम्भिक चरणमा पुग्दा अर्थतन्त्रमा सहकारी र सार्वजनिक स्वामित्वको प्रभाव बढ्ने र निजी स्वामित्व त्यसको मातहतमा परिचालित हुने अवस्था सिर्जना हुन्छ ।

गरिबी र बेरोजगारी अन्त्य गरी शिक्षा, स्वास्थ्यलगायत सामाजिक सुरक्षाको क्षेत्रमा राज्यको प्रमुख र निर्णायक भूमिका अपरिहार्य छ । व्यावहारिक र वैज्ञानिक शिक्षा प्रणाली आजको आवश्यकता हो । कृषिको आधुनिकीकरण र वैज्ञानिकीकरणविना गरिब किसानको हित सम्भव छैन । व्यापक रूपमा साना उद्योगसँगै ठूला उद्योगधन्दाको विस्तार र उत्पादनमा वृद्धितर्फ राज्यको ध्यान जानु जरुरी छ । स्वतन्त्र, आत्मनिर्भर अर्थतन्त्र निर्माण, व्यापार घाटामा आमूल परिवर्तन, राष्ट्रिय उत्पादनशील पुँजीको विकासविना समाजवादसम्मको यात्रा असम्भव छ । समाजका हरेक क्षेत्रमा योग्य एवं दक्ष जनशक्तिको विकास तथा आधुनिक विज्ञान र प्रविधिको तीव्र विकास अत्यावश्यक छ । समग्रतामा उत्पादक शक्तिको विकासअनुरूप उत्पादन सम्बन्धमा परिवर्तनजस्ता तमाम प्रगतिशील र क्रान्तिकारी कार्य अनिवार्य रूपमा समाजवाद प्राप्तिसँगै गाँसिएका विषय हुन् ।

उपर्युक्त विषयसँगै प्रशासनिक संयन्त्रमा व्यापक परिवर्तन र सुधार गर्दै आमजनतालाई सुशासनको प्रत्याभूति हुने गरी सरकार सञ्चालनको परिपाटी स्थापित गर्नु जरुरी छ । प्रशासनिक क्षेत्रमा रहेको भ्रष्टाचार र ढिलासुस्ती अन्त्य नगरी जनतामा सुशासनको अनुभूति हुँदैन । अहिलेको जस्तो प्रशासनले समाजवादको आधार निर्माण गर्न सक्दैन ।

यतिवेला मुलुकमा कम्युनिस्ट पार्टीको बहुमतको सरकार भए पनि पुरानो खाले पश्चिमा पुँजीवादी निर्वाचन प्रणाली कायम छ । यो निर्वाचन प्रणालीमा व्यापक सुधार र परिवर्तन नगरी समाजवादमा पुग्न सकिँदैन । त्यस्तै वर्तमान शासकीय स्वरूपमा पनि परिवर्तन गर्नु अनिवार्य छ । उपर्युक्त विषयमा घनीभूत बहसको आवश्यकता छ । हाम्रो देश अरू कुनै देशको नक्कलको आधारमा अघि बढ्न सक्दैन । हाम्रो आफ्नै मौलिकता र विशेषताको आधारमा मात्रै एकपछि अर्को समस्याको समाधान गर्न सकिन्छ ।

समाजवाद भनेको जनताबीचको आपसी समानता र न्यायमा आधारित व्यवस्था हो । त्यसैले गरिब, दुःखी आमश्रमजीवी जनताको जीवनमा परिवर्तन नल्याई विकास निर्माणका जति धेरै काम गरे पनि समाजवादको आधार तयार हुँदैन । केही दर्जन अर्बपतिहरू सम्पन्नताको चुलीमा पुगेर मात्र समाजवादको आधार तयार हुँदैन । सबै जनता समृद्ध हुनु र केही मुठीभरका व्यक्तिका हातमा मुलुकको साधन र स्रोत केन्द्रित हुनु आधारभूत रूपमा भिन्न विषय हो । समाजवादमा आमश्रमजीवी जनताको समृद्धिसँगै सिंगो मुलुकको समृद्धि गाँसिएको हुनुपर्छ ।

हामीले यतिवेला विश्वका विभिन्न खाले समाजवादी अभ्यासबाट गम्भीर शिक्षा लिन सक्छौँ तर कसैको पनि नक्कल गर्न सक्दैँनौँ । हाम्रो देशको यो नयाँ अभ्यास निकै सम्भावनायुक्त र चुनौतीपूर्ण छ । हाम्रा आफ्नै सकारात्मक र नकारात्मक अनुभव एवं आफ्नै उपलब्धि र कमजोरीबाट गम्भीर शिक्षा लिँदै अघि बढ्न सके यो देशका लागि मात्र होइन, दुनियाँका लागि पनि एउटा नमुनायोग्य ऐतिहासिक महान् कार्य हुनेछ ।

विगतमा विश्वका विभिन्न मुलुकमा राजकीय स्वामित्वलाई नै समाजवादको मूल आधार मान्ने गरियो । यसले राजकीय क्षेत्रमा कार्यरत पंक्ति धनी र सुविधा–सम्पन्न अवस्थामा पुग्ने र आमजनताको जीवनस्तर भने माथि उठ्न नसक्ने अवस्था उत्पन्न भयो । त्यसैले अहिलेदेखि नै हरक्षेत्रमा समूहगत उत्पादन प्रणालीमा जोड दिँदै अघि बढ्ने र समाजवादी चरणमा समूहगत स्वामित्व प्रणालीमातहत राजकीय र निजी स्वामित्व प्रणाली रहने परिस्थिति निर्माण गर्नुपर्ने आवश्यकता छ ।

गरिब दुःखी आमश्रमजीवी जनताको जीवनमा परिवर्तन नल्याई विकास निर्माणका जति धेरै काम गरे पनि समाजवादको आधार तयार हुँदैन

समाजवादमा समानताको पक्ष जति महत्वपूर्ण हुन्छ, स्वतन्त्रताको पक्षमाथि पनि उत्तिकै ध्यान दिनु जरुरी छ । हामीले जसरी नागरिकको राजनीतिक आधिकारमाथि जोड दिँदै आएका छौँ । त्यसैगरी आर्थिक, सामाजिक र सांस्कृतिक आधिकारबारे, जनवादी चरणदेखि नै ध्यान पुर्‍याउनु आवश्यक पर्छ । समाजवादमा सत्तामा पुग्नेहरू मालिकका रूपमा परिणत हुने र आमजनता उनीहरूका कामदारका रूपमा देखा पर्ने स्थिति उत्पन्न नहोस् भन्नेबारे अहिल्यैदेखि समाजवादी मूल्य, मान्यता र सोहीअनुसारको परिस्थिति निर्माण गर्दै अघि बढ्नुपर्छ । समाजवादी राज्यले, प्राकृतिक स्रोत, साधन, शिक्षा, स्वास्थ्य, रक्षा, परराष्ट्रलगायत राष्ट्रियस्तरका विकास, निर्माण एवं बृहत् उत्पादनसँग सम्बन्धित कामसमेत गर्ने र उसले समूहगत उत्पादन प्रणालीलाई प्रोत्साहित गर्दै निश्चित तहसम्म निजी स्वामित्वको समेत संरक्षण गर्ने सवालमा नेतृत्वदायी भूमिका निर्वाह गर्छ । यसले सारतः आमजनता नै उत्पादनको मालिक बन्ने परिपाटी स्थापित हुन्छ ।

हाम्रो मुलुकको समाजवादको आफ्नै किसिमको सार अनि सोहीअनुसारको विशिष्ट चरित्रको रूप पक्ष हुनेछ । समानता र स्वतन्त्रतामा आधारित वैज्ञानिक परिपाटी यसको सार पक्ष हो भने बहुदलीय प्रतिस्पर्धामा आधारित लोकतान्त्रिक (जनवादी) व्यवस्था यसको रूप पक्ष हो । विश्व पुँजीवादले कम्युनिस्टहरू अधिनायकवादी भएको र समाजवादमा राजनीतिक र व्यक्तिगत स्वतन्त्रता हुने भ्रम सिर्जना गरिरहेको वर्तमान अवस्थामा आमनेपाली जनता र दुनियाँसामु कम्युनिस्टहरू सच्चा समाजवादी र सही अर्थमा लोकतन्त्रवादी भएको स्पष्ट पार्नै पनि हामीले बहुदलीय समाजवादी जनवादको अवधारणा दुनियाँसामु प्रस्तुत गर्नु जरुरी छ । वर्तमान नेपाली कम्युनिस्ट आन्दोलनको मूलधार जसरी अघि बढ्दै छ, यसले पार्टी निर्माणको सन्दर्भमा आफूभित्र देखापरेका तमाम कमजोरी एवं विकृतिलाई निर्मतापूर्वक सच्याउँदै अघि बढ्ने हो भने वैज्ञानिक समाजवादको लक्ष्य हासिल गर्नु अनिवार्य छ ।

नयाँ पत्रिकाबाट
#समाजवाद # युवराज ज्ञवाली

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • कोरोना कहर:चुनौती तोड्न के गर्ने ?
  • कोरियामा कोरोना संक्रमणले एक जनाको ज्यान लियो, सुरक्षित रहन अपिल
  • सउल नेपाल गुम्बाद्वारा मार्च १ आयोजित बृहत ल्होसार ल्हाब्सोल कार्यक्रमको तयारी अन्तिम चरणमा
  • काभ्रे सम्पर्क समिति दक्षिण कोरियाको बार्षिक साधारणसभा भब्यरुपमा सम्पन्न
  • New Update

    Arts

    महान दार्शनिक प्लेटोको भनाईहरु शेयर गरौ “जसले सिकीमात्रै रहन्छ तर केहि गर्दैन,त्यस्तो व्यक्तिले जोत्छ मात्रै”

    प्लेटोको जन्म एथेन्सको नजिकै ईजिना नामक द्विपमा भएको थियो । उनको परिवार एक सामन्त वर्गको थियो । उनका पिता अरिस्टोन र माता पेरिक्टोन इतिहासका प्रसिद्ध कुलिन नागरिक हुन् । ४०४ ...

    समाजवादमा पुग्ने कसरी ?

    युवराज ज्ञवाली कुनै पनि मुलुकको आर्थिक सामाजिक व्यवस्था त्यहाँको ठोस विशेषतामा आधारित हुन्छ । नेपालको संविधानमा मुलुकलाई समाजवादको दिशामा अघि बढाउने उल्लेख गरिएको छ । यो संविधान, ...

    लिडर कसरी बन्ने ? लिडरमा हुनुपर्ने १३ योग्यता पढ्नुहोस् –

    लिडर बन्नको लागि तपाई निर्वाचित अधिकारी वा मुख्य कार्यकारी व्यक्ति हुनुपर्दैन । तपाइँ परिवारको लिडर बन्न सक्नुहुन्छ, आफ्नै जिन्दगीको या त कुनै व्यक्तिको । लिडर त्यस्तो व्यक्ति हो जो ...

    Entertainment

    नेपाल तामाङ कलाकार संघ दक्षिण कोरियाको अध्यक्षमा गायक युनिक दोङ

    शौल। दक्षिण कोरियामा नेपाल तामाङ कलाकार संघ गठन गरिएको छ । संघमा गायक युनिक दोङकाे अध्यक्षतामा ९ जनाको कार्य समिती गठन पनि गरेेेेको छ । ...

    काेरियामा साेनाम ल्होछारकाे राैनक, कार्यक्रमकाे भव्य तयारी

    दक्षिण काेरिया/ शाैल/ दक्षिण काेरियामा साेनाम ल्होछारकाे राैनक छाएकाे छ । तामाङ संघ दक्षिण काेरियाले जनवरी २४ सलनालको पहिलो दिन कार्यक्रमकाे ...

    पानीभित्र रेस्टुराँ

    नर्वेमा युरोपको पहिलो अन्डर वाटर रेस्टुराँसञ्चालनमा आएको छ । एक सय जना मानिसले एकसाथ लन्च वा डिनर गर्न सक्ने यो रेस्टुराँमा ४० जना मानिसले ...

    Video